मौद्रिक नीतिले उद्योगी र व्यवसायी उत्साहित, गभर्नरलाई दिए धन्यबाद

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योग व्यवसायले उठाउँदै आएका मुख्य विषय सम्बोधन गरेकाले यस क्षेत्रलाई केही राहतको अनुभूति भएको छ । अर्थतन्त्रमा तरलताको अभाव हुन नदिने, पुनर्कर्जाको सुविधा, ऋण र व्याजको किस्ता भुक्तानी अवधि थपलगायत विषय तिनले माग गरेका थिए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गरी कोभिड– १९ का कारण विश्व अर्थतन्त्र नै शिथिल भएको तथा उद्योगव्यवसाय क्षेत्रलाई पुनर्जीवन दिई चलायमान बनाउनु राज्य र निजी क्षेत्र दुवैलाई चुनौतीपूर्ण रहेको स्थितिमा बैंकले साउन २ गते आर्थिक वर्ष २०७७÷७८ का लागि जारी गरेको मौद्रिक नीतिले कोरोना प्रभावित उद्योग व्यवसाय क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र रोजगारी गुमाउनेलाई उद्यमशीलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने कुराको स्वागत गरिएको छ ।

अल्पकालीन प्रकृतिका चालुपूँजी कर्जालाई २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सकिने तथा कोभिड–१९ बाट प्रभावित पेशा÷व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याजलाई क्रमशः २०७७ पुस मसान्तसम्म, २०७७ चैत मसान्तसम्म र २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्नसक्ने व्यवस्था र अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकतानुसार थप समय प्रदान गर्न सकिने व्यवस्था सकारात्मकरुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।