सनराइज बैंकको विवादकाे विषयमा आज राष्ट्र बैंकमा छलफल हुँदै

-



     सफल आवाज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ साउन । सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा आज राष्ट्र बैंकमा छलफल हुने भएकाे छ । बिवादले उग्र रुप लिदै गएपछि राष्ट्र बैंकले आइतबार बैंकका सञ्चालक समिति अध्यक्ष, सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाएको हो ।

राष्ट्र बैंक श्रोतले सफल आवाजलाई दिएको जानकारी अनुसार विवादको जडबारे राष्ट्र बैंकमै छलफल हुनेछ । त्यसपछि राष्ट्र बैंकले बैंकलाई आवश्यक निर्देशन दिनेछ । बैंकका अध्यक्ष मोतिलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कतिपय निर्णयहरु सञ्चालक समितिमा छलफल नै नगरी काम अघि बढाएको भन्दै असन्तुष्टि शुरु भएको थियो।

गत बिहीबार बसेको सञ्चालक समिति बैठकमा शैलेन्द्र गुरागाईं लगायतका केहि सञ्चालकहरुले सीईओले अध्यक्ष दुगडलाई मात्रै बैंकको बोर्ड ठानेको भन्दै असन्तुष्टि जनाएका थिए ।
सीईओ पौड्यालले त्यसको खुलेरै विरोध गरे । त्यसपछि झन विवाद चर्किएको थियो । विवाद बढ्दै गएपछि सञ्चालकहरुले सीईओले राजिनामा दिए विवाद समाधान हुने बताएका थिए ।

त्यसपछि सीईओलाई बोर्डले स्पष्टिकरण सोधेको छ । सोमबारसम्म लिखित जवाफ पेश गर्न भनिएको स्पष्टिकरण अहिलेसम्म पौड्यालले बुझाएका छैनन् । सञ्चालक समितिका अध्यक्ष दुगड पौड्याल पक्षमा नै छन् भने सञ्चालकहरु गुरागाँईं, शारदा शर्मा, ओमकृष्ण जोशी र दिपक नेपाल पौड्यालको विपक्षमा उभिएका छन् ।

पौड्याल सीईओमा नियुक्ति हुनु अगाडि पनि बैंकमा धेरै विवाद थियो । एक वर्ष अघि संचालक समितिले निरज श्रेष्ठलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको थियो । तर अहिले विवाद चर्काउने सञ्चालकहरुले त्यसबेला पनि निकै बिवाद चर्काएका थिए ।

विवाद उत्कर्षमा पुगेपछि नियुक्ति पाइसकेका श्रेष्ठले नियुक्ति नलिने बताएका थिए । त्यसपछि पौड्याललाई भने सर्वसहमतिमै एक वर्ष अघि सीईओ नियुक्त गरिएको थियो ।