मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारीः ऋणिले पाउनेछन् यस्ता सुविधा

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । नीतिगत व्यवस्था घोषणा भए पछि कार्यान्वयनका लागि निर्देशन दिनु पर्ने व्यवस्था अनुसार सोमबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो निर्देशन दिएको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले ऋणिलाई विशेष सहुलियत दिएको छ । कोरोना भाइर (कोभिड–१९) का कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकले ऋण तिर्ने समयसीमा लम्वाएर सहुलियत दिएको छ । यसलाई अब बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयन गर्नु पर्ने छ ।

सोमबार जारी गरिएको निर्देशनमा २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण भएका र २०७६ पुस मसान्तपछि प्रवाह भएका कर्जालाई २०७७ असार मसान्तसम्म असल वर्गमा वर्गीकरण गर्न छुट दिएको उल्लेख छ ।

कोरोनाका कारणले विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजना निर्माण सम्पन्नरसञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुनरसञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैक वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्म ग्रेस अवधि थप गरिदिन सक्ने छन्। यसमा भने केही सर्तहरु तोकिएको छ ।

कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई एक बर्ष, मध्यम प्रवाहितलाई ९ महिना तथा न्यून प्रवाहितलाई ६ महिनाको समय थप गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । तर सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ बर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने भएको छ ।