क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ मंसिर । सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर व्याटिङ गरेको थियो । पहिला व्याटिङ गर्ने क्रममा कास्की क्रिकेट क्लबले १४६ रन बनाएको थियो । यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका अर्जुन कुमालले ७१ रन बनाएका थिए । उनको अधर्शतकीय पारीको योगदानमा कास्कीले ३७.५ ओभरमा पुरै विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो ।

कुमालले ९३ बल खेल्दै ८ चौकाको मद्धतबाट ७१ रन जोडेका थिए । उनीसँगै आयुस सैंजुले २५ रन बनाए । बाँकी व्याट्सम्यानले भने खासै जम्न सकेनन् । चार व्याट्सम्यान भने रनको लागि खाता खोल्नै सकेनन् । कास्कीको व्याटिङलाई सस्तैमा आउट गर्ने क्रममा सांग्रिला क्रिकेट क्लबका बलर विकास क्षत्रीले सर्वाधिक ५ विकेट लिए । उनले एक मेडन राख्दै ३१ रन खर्चिएका थिए । त्यस्तै सुदिप पौडेलले दुई र कप्तान विपिन खत्रीले १ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको सांग्रिला क्रिकेट क्लबले कप्तान खत्रीको ७० रन नटआउट हिर्काउँदै जित पक्का बनाए । उनले अरुण अधिकारीसँग चौथो विकेटको लागि ८४ रनको साझेदारी निभाए । २४ रन बनाउने क्रममा तीन विकेट गुमाईसकेको सांग्रिलाको स्कोर उकास्ने क्रममा दुवैले महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे । अरुणले ४४ बल खेल्दै ३५ रन बनाए । विपिनले भने ६४ बलमा ७० रन बनाउने क्रममा छ चौका र १ छक्का स्कोरमा चढाएका थिए ।

कास्की क्रिकेट क्लबका विश्व कार्की र नितेश गिरीले समान २-२ विकेट लिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिता अन्तर्गत बिहीबार अरण्यज्योति क्रिकेट क्लबले माछापुच्छे क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने कास्की क्रिकेट संघका अध्यक्ष दिपेन्द्र प्रताप चन्दले बताए ।