मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

-



     सफल आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ मङ्सिर । मेलम्ची खानेपानी आयोजनाको सुरुङकाे द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ-छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाइएको हो । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकाेमा असार ३० मा दुर्घटना भएको थियो । त्यसपछि उक्त द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ ।

सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको हो । एशियाली विकास बैङ्क (एडिबी) ले सुरुङको सबै भागको अवलोकन गर्नका लागि चारजना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् । उनीहरुको अध्ययन प्रतिवेदनका आधारमा अहिले पानी हाल्न ठीक छ, छैन भनी निर्णय गरिने उनले बताए । पन्तका अनुसार उनीहरु निर्माणस्थलमा रहेर त्यहाँ सुरुङ हेरिरहेका छन् र त्यसकै आधारमा प्रतिवेदन दिनेछन् । उनले भने, पहिले परीक्षण हुँदा पनि दुईजना प्रतिनिधि आएका थिए, दुर्घटना भएर अहिले सच्याउने काम हुँदा पुनः अर्काे टोली आएको छ ।

प्राविधिक टोलीलाई अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने देखिएको छ । एडिबीका ती प्रतिनिधिले डिसेम्बरभित्रमा अध्ययन सकाउने अपेक्षा गरिएको छ । जम्मा २७ किमी लम्बाइको सुरुङसँगै द्वारहरुको अवस्था हेर्न समय लाग्ने बताइएको छ । उनीहरुले सबै ठीक छ अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ । सुरुङमा चार द्वारमा सुधार गर्नुपर्नेमा त्यो काम अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने काम भइरहेको छ । यसअघि त्यसको प्वाल हाल्ने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रिट राखेर केही दिन हेर्नुपर्ने उनले बताए ।

फ्रेम हालिसकेर कङ्क्रिट राखिएको र त्यसले आफ्नो क्षमतामा आउन अझै केही समय लाग्ने बताइएको छ । “झण्डै २८ दिन हेरेर त्यसको अवस्था ठीक छ भन्ने भएपछि मात्रै पानी पठाउन थालिने छ । परीक्षणका लागि पुनः पानी सुरुङभित्र हाल्न अझै झण्डै १५÷१६ दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुङ भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि त्यसमा समस्या भए÷नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ ।

सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रुपमा पानी पठाइन्छ । उनले भने, “दुई महिना यो प्रक्रियाका लागि लाग्छ ।” सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता शाक्यले जानकारी दिए ।

इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो । भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ ।