फागुन २३ देखि रूपा गाउँपालिकामा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

-



     सफल आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ फागुन । कास्कीको रुपा गाउँपालिकाले स्थानिय तह स्थापना दिवसको अवसरमा रुपा पहिचानः ‘सबै क्षेत्रमा समृद्धिको अभियान’को नारासहित यस वर्ष विभिन्न सम्मान तथा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।

रुपा गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र संवर्धनमा अतुलनिय योगदान पुर्याउने गाउँपालिकाभित्रका श्रष्टा, साहित्यकार लेखक तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय खेलाडीहरुलाई गाउँपालिकाको स्थापना दिवसको अवसरमा ताम्रपत्र, दोसल्ला र नगद १५ हजार १०१ बाट सम्मान गरिने अध्यक्ष नवराज ओझाले बताए ।

रुपा गाउँपालिकाले बिगतका वर्षमा जस्तै यस वर्ष पनि स्थानिय तह स्थापना दिवसको अवसरमा फागुन २३ गते अध्यक्ष कप भलिवल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको छ । गाउँपालिका अन्तर्गत रहेका ७ वटै वडाहरुमा लोप हुन लागेका जातजातीहरुको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्येश्यले रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता गरिने भएको छ ।

यस वर्ष मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्थानिय स्तरमा उत्पादन हुने विभिन्न प्रजातिका फूल तथा दुबोको माला प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
समापनको दिन फागुन २७ गते ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु रहने भएका छन् ।

सोहि दिन गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरुमा लोप हुन लागेका जातजातीहरुको संस्कृति परम्परालाई जगेर्ना गर्ने उद्येश्यकासाथ वडा नं १ बाट बोटे जाति अनिवार्य सहभागि हुनेगरी ५ समूह, वडा नं २ बाट दलित अनिवार्य सहभागि हुनेगरी ४ समूह, वडा नं ३ बाट कुमाल अनिवार्य सहभागि हुनेगरी ४ समूह, वडा नं ४ बाट ठकुरी अनिवार्य सहभागि हुनेगरी ४ समूहकाे झाँकी प्रदर्शन हुने भएकाे छ ।

यस्तै वडा नं ५ बाट गुरुङ र नेवार सहभागि हुनेगरी ५ समूह, वडा नं ६ बाट मुस्लिम अनिवार्य हुनेगरी ६ समूह र वडा नं ७ बाट नेवार अनिवार्य सहभागि हुनेगरी ५ समूहसहित बृहत रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता हुने र विजयीलाई समापनको दिन पुरस्कार वितरण गरिने अध्यक्ष ओझाले बताए । पाँचौ दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमितिहरु बनाईएको छ

भलिबल तर्फ प्रथम पुरस्कार नगद ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । द्धितिय पुरस्कार नगद ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्वना पुरस्कार नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट खेल प्रदर्शन अन्तर्गत बेष्ट स्पाइकरलाई ३ हजार, बेष्ट सर्भरलाई ३ हजार, बेष्ट ब्लकरलाई ३ हजार, बेष्ट सटरलाई ३ हजार, बेष्ट लिब्रोतर्फ ३ हजार र बेष्ट प्लेयरलाई ५ हजार र मायाको चीनो प्रदान गरिने भएको छ ।

प्रतियाेगितामा सहभागि हुन चाहने टिमले फागुन १५ गतेदेखि २२ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने भएकाे छ । कार्यक्रमको समापन फागुन २७ गते एक भव्य समारोहबीच गरिने रूपा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।