आहारारामा ८ टिमको प्रतिष्पर्धा हुने

-



     सफल आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ फागुन । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी आगामी चैत २१–२८ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा टिमको टुंगो लागेको जनाएको हो।

क्लब अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगितामा नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराले भाग लिने भएका छन् । १८ औं संस्करणको विजेता मनाङ्ग र उपविजेता नेपाल पुलिस क्लब हुन्।

२०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ।

यस वर्षदेखि सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कारलाई अर्पण गरिने जनाइएको छ ।

यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट एकजना राष्ट्रिय खेलाडीलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार प्रदान गरिनेछ । प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख र खर्च १ करोड १ लाख लाग्ने जनाइएको छ ।