पोखरामा रेस्लिङ प्रतियोगिता हुँदै

-



     सफल आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ चैत । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा पोखरामा ‘सेकेण्ड आरडब्लु नेशनल च्याम्पियनसीप–२०२१’ हुने भएको छ ।

संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आगामी २०–२१, चैतमा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

नेपालमा रिङ रेस्लिङ खेल विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको संघ महासचिव सुवर्ण श्रेष्ठले जनाइन् । उनका अनुसार प्रतियोगितामा नुवाकोटे टाइगर (कमल तामाङ), थागु, द युव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलासा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला पुरुष खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख तथा च्याम्पियन बेल्ट तथा दोस्रो हुनेले ५० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

रेफीमा प्रदीप पाण्डे, विकास खड्का र सिसम मैनी रहने छन् भने हास्य कलाकार सन्दीप क्षेत्रको विशेष प्रस्तुति रहने पत्रकार सम्मेलनमा जनाइयो ।

संघले यसअघि २०७३ फागुनमा नेपाल भारत मैत्रीपूर्ण प्रतियोगिता र २०७४ मा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गरिसकेको छ । नेपालमा रिङ रेस्लिङ खेल विकासका र बिस्तारका लागि खेलाडी उत्पादन सँगै निरन्तर तालिम व्यवस्थापन गर्न रिङ रेस्लिङ एकेडेमी समेत स्थापना गरिसकिएको महासचिव श्रेष्ठको भनाइ छ । उनका अनुसार संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने गरेको र विदेशमा समेत सहभागी गराउँदै आएको छ ।