आहा रारा गोल्डकप सुरु, उद्घाटनमा एपिएफ विजयी

-


     सफल आवाज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ चैत । विभागीय एपिएफ क्लबले १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो । जितका लागि ८७ औं मिनेटमा आशीष लामाले गोल गरेका हुन् । म्यान अफ दी म्याच उनले गोलको खडेरी तोड्दै आफ्नो टिमलाई अग्रता दिएकोमा सोही गोल नै जितका लागि काफी भयो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । जितसँगै एपिएफले साविक विजेता मनाङसँग भेट सुनिश्चित गरेको छ ।

आइतबारको खेल मच्छिन्द्र क्लब र क्यामरुनको अफ्रिकन रुट एसोसिएसनबीच हुने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगिता विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो । प्रालिका संचालक सूर्यबहादुर केसीको निधनपछि आयोजकले उनकै नाममा ५ विधामा अबदेखि निरन्तर पुरस्कार दिने जनाएको छ । जसअनुसार सूर्यबहादुर केसी मेमोरियल वेस्ट गोलकिपर, वेष्ट डिफेन्डर, वेस्ट मिड फिल्डर, वेस्ट स्ट्राइकर, वेस्ट कोच छन् । सबैको जनही २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।

उद्घाटन अवसरमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ सम्मानबाट राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरियो । उनलाई रखेप सदस्यसचिव रमेशकुमार सिलवालले नगदसहित ३५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । आहा रारा गोल्डकपको १८ औं संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लब हो ।