नुवाकोटे टाइगरले जिते रिङ रेस्लिङ उपाधि

-


     सफल आवाज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ चैत । नुवाकोटे टाइगर (कमल तामाङ) ले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगितामा डेविड दोस्रो भए ।

पोखरा रंगशालाको बहुउद्देश्य कभर्ड हलमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए । उनले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए ।

अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्प मार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधैँ रिङमा बज्रिदा घाइते हुन पुगे । पछि उठ्नै नसक्ने गरी बजारिएको मौका सदुपयोग गर्दै टाइगरले डेविडमाथि लक लगाएपछि रेफ्रीको ३ काउन्टसँगै च्याम्पियन बनेका हुन् । च्याम्पियन टाइगरले १ लाख र उपविजेता डेभिडले ५० हजार रुपैयाँ पुरस्कार पाए । सो प्रतियोगितामा चट्टान तेस्रो भएको नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।

दुर्बले एकअर्का माथि रिङभित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए । खेलमा टेबल, कुर्सी, फलामको चेन, सिँढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एकअर्कामाथि प्रहार गरिएको थियो ।

नुवाकोटे टाइगसहित थागु, द युव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलासा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, युविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायतले २ दिने प्रतियोगितामा भाग लिएका थिए ।

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका सदस्य सचिव तेज गुरुङ लगायतले पुरस्कार बाँडेका थिए ।