विराटनगर नेपाल सुपर लिगकाे शीर्षमा

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


काठमाडौं, २१ वैशाख । नेपाल सुपर लिगअन्तर्गत सोमबारकाे खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके । विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे।

जितसँगै विराटनगर ४ खेलमा ७अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । लिगको पुछारमा रहेकाे चितवनको ४ खेलमा २ अङ्कमात्र छ।