नेपाल सुपर लिग: ललितपुर र बुटवल प्ले अफमा

-



     सफल आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित



काठमाडाै, २५ वैशाख । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् ।

ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे।

३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे । खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । ८१ औंँ मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए भने इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए ।

ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले २५ हजार पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिए। उनले १० हजार पुरस्कार प्राप्त गरे।

जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचाँैं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो । बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरे । बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो ।

आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन् । धनगढी र काठमाडौंँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ।