महामारीमा फुटबल टिमको दौडधुप : इराकबाट कुवेत पुग्यो

- ताइपे, जोर्डन र अष्ट्रेलियासँग खेल्नेछ

-


     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित


काठमाडौं, १७ जेठ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले देश ठप्प भएको बेला फुटबल खेलाडीले दौडधुपमा छन्।

फिफा विश्वकप छनौटको दोस्रो चरणको खेलका लागि गएराति नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। इराकसँगको मैत्रीपुर्ण खेलपछि स्थलमार्ग हुँदै नेपाली टिम कुवेत पुगेको हो।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गतका खेल खेल्न नेपाली टिम कुवेत पुगेको हो।

कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ। पहिलो खेल जुन ३ मा चाइनिज ताइपेसँग हुनेछ। यस्तै दोस्रो खेल जुन ७ मा जोर्डन र तेस्रो खेल जुन ११ मा अष्ट्रेलियासँग हुनेछ।

कुवेत पुगेको नेपाली टिमको कारोना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट आएपछि प्रशिक्षणमा सहभागी गराइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

विश्वकप छनोटको तयारीका लागि शनिबार इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो।