चीनबाट ९ लाख खोप नेपाल आइपुग्दै

- अहिलेसम्म नलाएका नागरिकलाई लगाइने

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । चीनले अनुदानमा दिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ९ लाख डोज मंगलबार नेपाल आइपुग्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदानमा दिने घोषणा गरेका १० लाख खोपको डोजमध्ये ९ लाख मंगलबार नेपाल आइपुग्ने भएको हो ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी जिनपिङलाई खोप सहयोगको लागि आग्रह गरेकी थिइन् ।

खोप लिन नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी विमान गएराति चीनको बेइजिङ गएको छ । चिनियाँ कम्पनी साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपाल ल्याइने छ ।

८ लाख खोपसहित नेपाल वायुसेवा निगमको विमान र १ लाख डोज खोप बोकेको हिमालयन एयरलाइन्सको विमान दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट आइपुग्ने खोप अहिलेसम्म एक पटक पनि खोप नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने जनाएको छ।

मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरिकका लागि पहिलो खोपका लगाउन अनलाइन फारम भर्न आग्रह गरेको छ । कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ ।