दोहोरो करको विषय पेचिलो बन्दै, आफूखुसी व्याख्याले विदेशी लगानीलाई असर

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ मंसिर।  दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको ‘कर्पोरेट ट्याक्स रिपोर्टिङबारे अन्तरक्रिया कार्यक्रम’ मा सहभागी वक्ताहरुले दोहोरो कर सम्बन्धी व्यवस्थालाई आफूखुसी व्याख्याले विदेशी लगानीलाई असर गरेको स्पष्ट पारेका हुन् । 

कर्पोरेट सम्बन्धी ऐन र नियमहरु अस्पष्ट रहेको पनि वक्ताहरुको भनाइ छ । कर्पोरेट करका जानकार अधिवक्ता कपिल ढकालले ११ देशसँग दोहोरो कर छुट सम्झौता भएको भए पनि कार्यान्वयन पक्षमा दुविधा रहेको बताए । यसलाई कम्पनीसँगको मिलेमतोमा सरकारी कार्यालयले आफु अनुकुल व्याख्या गर्न नहुने बताउँदै उनले यस सम्बन्धी नीति संसद्बाट पारित गरेर उचित मागदर्शन दिनुपर्ने बताए ।

कर सम्बन्धी मुद्दाको रिपोर्टिङ गर्दा पत्रकारहरु गम्भिर हुनुपर्ने पनि उनको भनाइ छ । अदालतले गरेको आदेश, फैसला, निर्णयहरुलाई स्पष्ट रुपमा बुझेर मात्रै समाचार बनाउनुपर्ने उनको सुझाव छ । 

यस्तै, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले दोहोरो कर सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा पनि विदेशी लगानी आउन नसकेको बताए । विदेशी लगानी आर्कषित गर्न पनि  दोहोरो कर छुटको व्यवस्थालाई स्पष्ट बनाउनुपर्ने उनको माग छ । 

यस्तै, नेपालमा लाग्ने भन्दा बढी कर तिर्दा फिर्ता नहुने समस्या रहेको उल्लेख गर्दै उनले यसलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए । विदेशमा लाग्ने भन्दा बढी कर तिर्दा प्रणालीले नै फिर्ता गर्ने व्यवस्था रहेको उदाहरण दिदैं नेपालमा पनि यस्तो प्रणाली आवश्यक रहेको ज्ञवालीले औल्याए । 

यस्तै, नाफिजकी अध्यक्ष मेनुका कार्कीले कर सम्बन्धी बिषयहरु जटिल हुने भएकाले त्यसलाई सरलीकृत गर्न यो कार्यक्रम आयोजना गरिएको बताइन् । नाफिजले पत्रकारको क्षमता अभिबृद्धि गर्न यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।