मनमोहन अधिकारीले ९ महिनामै इतिहास रचे, वर्तमान सरकारले २ सय ४० दिनमा के गर्‍यो ?

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित



पोखरा, १३ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष राजेन्द्रबहादुर थापाले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्व र योगदानको स्मरण गर्दै वर्तमान सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

२०५१ साल मङ्सिर १३ गते मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री नियुक्त भएको ऐतिहासिक दिनको सन्दर्भ पारेर थापाले नौ महिनाको छोटो कार्यकालमै अधिकारीले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको उल्लेख गरेका छन् ।

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात, गाउँमुखी विकासको अवधारणा, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धता अधिकारीको नेतृत्वका महत्त्वपूर्ण उपलब्धि भएको थापाको भनाइ छ ।

वर्तमान सरकार सञ्चालन गर्ने दलका नेताहरूले जनतासँग मागेको १०० दिनको समयसीमा स्मरण गराउँदै थापाले २४० दिनभन्दा बढी समय बितिसक्दा पनि जनताले अनुभूति गर्ने खालको परिणाम देखिन नसकेको टिप्पणी गरेका छन् ।

“मनमोहन अधिकारीले नौ महिनामा इतिहास रच्नुभयो,” थापाले भनेका छन्, “वर्तमान सरकारको समय बित्यो, बजेट भाषण भयो, आश्वासनका शब्दहरू दोहोरिए; तर जनताको जीवनमा परिवर्तन ल्याउने कामको गति कहाँ छ ?”

मनमोहन अधिकारीको कार्यकाल एउटा बजेट भाषणका कारण मात्र सफल नभई जनताको पक्षमा गरिएका ऐतिहासिक निर्णय र तिनको प्रभावकारी कार्यान्वयनका कारण स्मरणीय बनेको थापाले बताएका छन् । एमालेका लागि अधिकारीको नेतृत्व गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले वर्तमान शासकहरूका लागि पनि त्यो एउटा गम्भीर राजनीतिक पाठ र चुनौती भएको धारणा राखेका छन् ।

महँगी, बेरोजगारी, विकासको सुस्त गति र जनअपेक्षाको सम्बोधनलाई सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै थापाले जनताले भाषण र आश्वासनभन्दा ठोस परिणाम खोजिरहेको बताएका छन् । “सत्ता प्राप्ति उपलब्धि होइन, जनताको जीवनमा परिवर्तन ल्याउनु वास्तविक उपलब्धि हो,” उनको भनाइ छ ।

नेकपा (एमाले) को गौरवशाली इतिहास पद र प्रतिष्ठामा नभई जनताको जीवन बदल्ने निर्णय र जनसेवामा स्थापित भएको उल्लेख गर्दै थापाले अधिकारीको नेतृत्वले जनमुखी राजनीतिको महत्त्वलाई प्रमाणित गरेको बताएका छन् । पद र सत्ता अस्थायी भए पनि जनताको पक्षमा गरिएका इमानदार काम र योगदान इतिहासमा सधैँ स्मरणीय रहने उल्लेख गर्दै उनले स्वर्गीय अधिकारीप्रति श्रद्धासुमनसमेत व्यक्त गरेका छन् ।