भर्सटाइल अभिनेता महेशको ‘ककाकिकी’मा जबर्जस्त अभिनय

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित




काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् । उनका फिल्महरू हेरिरहँदा एउटा कुरा प्रमाणित हुन्छ ‘महेश भर्सटाइल एक्टर हुन् ।’ अहिले रिलिज भइरहेको फिल्म ‘ककाकाकी’मा उनी भोला पात्रको भूमिकामा छन् ।

भोला मुखियाको घरमा बसेर असाध्यै दुःख पाएको सोझो पात्र हो । गाउँमा पनि अरूको अगाडि ऊ मजाकको पात्र मात्र बन्छ । तर जहिल्यै कुनै ठूलो योजना बुन्नु पर्दा उपाय फ्याट्ट उसकै बोलीबाट फुर्छ । यो फिल्मको खास हिरो हो ‘भोला’ ।

फिल्म हेरिरहँदा कत्तै पनि महेश देखिन्नन् । त्यही दुर्गम गाउँको भोला, जो गाउँमा अस्पताल बनाउने सपनाका लागि सङ्घर्ष गर्छ । यो फिल्ममा सबैभन्दा धेरै उही भोलाले हँसाउँछ । सबैभन्दा दुःख पनि भोलाकै कथाले लाग्छ ।

महेशले हरेक फिल्ममा फरक–फरक पात्रमा आफूलाई जीवन्त ढाल्न सक्छन् । फिल्म ‘पाँच पाण्डव’मा उनी युट्युबर छन् । यो फिल्ममा पनि सबैभन्दा बलियो अभिनय उनको छ ।

त्योभन्दा अघि ‘झिंगेदाउ २’ मा पनि महेशको अभिनय जबर्जस्त छ । फिल्म ‘परान’मा महेशको काम हेरेर धेरैले प्रशंसा गरे । फिल्म ‘हल्कारा’बाट त उनले अन्तर्राष्ट्रिय अवार्ड नै जिते । फिल्म ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’को कामबाट पनि उनले दर्शक–समीक्षकको तारिफ बटुले । महेशको अब मङ्सिर १७ गते ‘३६ को आँकडा’ आउँदै छ । फिल्म ‘आशा’, ‘मन बिनाको धन’ रिलिजको पाइपलाइनमा छन् ।