स्वीडेनद्वारा अर्मेनिया ३–१ ले पराजित

-


     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ जेठ । युरोकप अघिको तयारी खेलमा स्वीडेनले अर्मेनियामाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे ।

पाहुना टोलीका भाहन विचाकच्यानले सान्त्वना गोल फर्काए । खेलको १६औं मिनेटमा इमिल फोर्सवर्गको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।

३४औं मिनेटमा मार्कुस डानिल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा स्वीडेनका सेवास्टिन लार्सन पेनाल्टी खेर फाले । ६४औं मिनेटमा भाहन विचाकच्यानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनको जित पक्का गरे ।

अन्तर्राष्ट्रिय खेलमा स्वीडेनको यो लगातार पाँचौ जित हो । युइएफए नेसन्स लिगमा फ्रान्ससँग ४–२ ले पराजित भएयता स्वीडेनले सबै पाँच खेलमा जित हात पारेको छ । स्वीडेन युरोकपमा होमिनेछ । समूह ‘इ’ मा रहेको स्वीडेनले स्पेन, स्लोभाकिया र पोल्यान्डसँग खेल्नेछ ।