जोर्डनद्वारा नेपाली टिम दबाबमा, पहिलो हाफमा अग्रता

-


     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित


काठमाडौं, २४ जेठ । जोर्डनले नेपालविरुद्ध १–० को अग्रता लिएको छ । विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले सातौं खेलमा जोर्डनको सामना गरिरहेको छ ।

पहिलो हाफको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमा नेपालविरुद्ध पहिलो गोल गर्न सफल भएको हो । पेनाल्टी एरियामा रोहित चन्दको फल हुँदा विपक्षी टिमले पेनाल्टीको अवसर पाएकोमा कुनै पनि गल्ती गरेन ।

पहिलो हाफसम्म जोर्डनले नेपाललाई निकै दबाबमा राखेको छ । आधा दर्जन गोलका अवसरमा नेपाली टिमका बलिया किपर किरण चेम्जोङको प्रदर्शन तारिफयोग्य छ । उनले मिनेटमै डबल गोलका प्रयास छेकेका छन् ।

नेपाललाई एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो पार्न यो खेल जित्नैपर्ने छ भने जोर्डनलाई यही नतिजा कायम राखे पनि विश्वकप छनोटको अघिल्लो चरण तथा एसियन कपमा सिधैं छनोट हुने सम्भावना छ । जोर्डनले दोस्रो स्थानमा तीन अंकको अग्रता बनाउनेछ ।

यो समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक हुँदा दोस्रो स्थानको कुवेतले ६ खेलमा १० अंक ल्याएको छ । जोर्डनले ५ खेलमा १० अंक जोडिसकेको छ । नेपालको ६ अंक हुँदा ताइपेइको शून्य छ । आज अष्ट्रेलिया र चाइनीज ताइपेइको खेलमा अष्ट्रेलियाको जित भए समूहमा शीर्ष पक्का छ । नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु भएको हो ।

विगत हेर्दा नेपाल र जोर्डनबीचको यो चौथो खेल हो । ३ खेलमध्ये १ मा नेपालले बराबरी रोक्नमात्र सकेको छ । १० वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले नतिजा सुम्पेको थियो । ५ वर्षपछि नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । विश्वकप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो।