जोर्डनद्वारा नेपाल ३–० ले पराजित

-


     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित


काठमाडौं, २४ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनलाई जित सुम्पेको छ । सोमबार रातिको प्रतियोगितामा नेपाललाई खेल अवधिभर दबाबमा राखेको जोर्डनले ३–० को गोलअन्तर कायम गर्दै समूहको दोस्रो स्थानमा उक्लिन सफल भयो ।

नेपालले शुक्रबार अर्को खेलमा अष्ट्रेलियाको सामना गर्न बाँकी छ । नेपाल यो हारसँगै ६ अंक सहित चौथो स्थानमा सीमित छ । जोर्डनको ६ खेलमा १३ अंक पुग्दा कुवेत १० अंक सहित तेस्रो स्थानमा छ । ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले आज नै अंकविहिन चाइनिज ताइपेइसँग खेल्दैछ ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

पहिलो हाफमा ०–१ गोलअन्तरले पछि परेको नेपाललाई हराउन जोर्डनले दोस्रो हाफमा थप २ गर्न सफल भयो ।

खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमा नेपालविरुद्ध पहिलो गोल गर्न सफल भएको हो । पेनाल्टी एरियामा रोहित चन्दको फल हुँदा विपक्षी टिमले पेनाल्टीको अवसर पाएकोमा कुनै पनि गल्ती गरेन । दोस्रो हाफको सुरुवातमै जोर्डनले सेफको मद्दतबाट फ्रिकिक बल गोलमा परिणत भयो ।

यस्तै, खेलको ६८ औं मिनेटमा जोर्डनले ३–० अग्रता दिँदै जित सुनिश्चित गर्न सफल भयो । याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए ।

नेपाली टिमका किपर किरण चेम्जोङ विपक्षीका आधा दर्जन बढी गोलका अवसर रोक्न सफल भएका थिए ।

विगत हेर्दा नेपाल र जोर्डनबीचको यो चौथो खेल थियो । ३ खेलमध्ये १ मा नेपालले बराबरी रोक्नमात्र सकेको थियो । १० वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले नतिजा सुम्पेको थियो । ५ वर्षपछि नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । विश्वकप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो।