सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

-



     सफल आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् ।

चौधरीले महिला १ सय मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नु सकिनन् ।

यसअघि चौधरीले १ सय मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।

नेपालबाट ४ खेलमा ५ खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेकी छन् ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिए । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए। पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए।