टोकियो ओलम्पिकमा ४० पदकसहित चीन शीर्ष

-



     सफल आवाज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ साउन । टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् ।

जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्टेलिया ९ स्वर्ण, २ रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ७ स्वर्ण, ९ रजत र ९ कास्यसहित छैटौँ, दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् ३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै आठौँ, फ्रान्स ३ स्वर्ण, ५ रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी ३ स्वर्ण, ४ रजत र ९ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट ४ खेलमा ५ खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सबै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।