प्रदेशका टोल टोलमा खेलकुद लैजाने प्रयास हुँदैछ : गुरुङ

-


     सफल आवाज    
     असाेज २३ गते २०७८ मा प्रकाशित


पोखरा, २३ असोज । राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउनु पर्नेमा जोड दिएका छन् । उनले खेलकुद बहुआयामिक र फाइदाजनक विधा भएकोले बाल्यकालबाटै बालबालिकाहरुलाई खेलकुदमा सहभागि गराउन उनले अनुरोध गरे ।

पश्चिमाञ्चलको पहिलो निजि विद्यालय माउन्न अन्नपूर्णले आज बिहान दशैंतिहार, छठ, नेपाल संवत, इद तथा ल्होसारको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा गुरुङले उक्त कुरा बताएका हुन् ।

हामीले टोल टोलमा खेलकुदको वातावरण निर्माण गर्न चाहेका छौं सदस्य सचिव गुरुङले भने, अहिले २ र ३ नं वडाका १० देखि १४ वर्षका वालवालिककालाई खेलकुदको सुविधा दिन कार्तिक ३ दिन ८ गतेसम्म माउन्ट अन्नपूर्ण मावि नदीपुरमा खेलकुद कार्यक्रम आयोजना गर्न लागेका छाै‌ । बिहान ७ देखि ९ वजेसम्म आयोजना गरिने कार्यक्रममा वालवालिका सहभागि गराईदिन उनले टोलवासिलाई आग्रह गरे ।

खेलकुदले स्वस्थ बनाउँछ नै यो भन्दा पनि यसले मानिसमा भएको विभेदलाई हटाउन मद्यत गर्छ, समाजलाई एकतावद्ध बनाउँछ त्यसैले हामी खेलकुदको माध्यमबाट समृद्धि हाँसिल गर्न सक्छौं । सदस्य सचिव गुरुङले भने, हामीले वालवालिकाको खेलकुदको कार्यक्रम ल्याएका छौं, वालवालिका ल्याउनुहोस् उनीहरुको लागि सबैकुरा निःशुल्क उपलव्ध हुनेछन् । अर्को कुरा हामीले सबैको लागि खेलकुद भनेका छौं, वालवालिका, युवा तथा विशेष बुढापाकाहरुले पनि सकेको खेल्नुपर्छ ।

पोखरा महानपरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले कोरोना भाइरसको संक्रमण नरोकिएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई काम गर्न अनुरोध गरे । उनले वडाको शिक्षा, खेलकुद, कला संस्कृतिको संवर्धन र प्रवर्धनको कार्यमा लागिरहेको बताए । वडाध्यक्ष प्रजुले आईतबार र सोमबार १८ वर्ष माथिका सबैलाई र छुटेकाहरुलाई भेरोसेल खोप लगाउने कार्यक्रम भएको जानकारी पनि दिए ।

पूर्व सभासद कृष्णकुमारी परियारले कोभिडको कारण शिक्षा क्षेत्र निकै प्रभावित भएको बताउँदै विपन्न, गरिब र दलित परिवारका बच्चाहरुको पढाईमा विशेष छुटको व्यवस्था गर्न अनुरोध गरिन ।

विद्यालयका प्राचार्य प्रदीप लम्सालले माउन्ट अन्नपूर्ण मावि गुणस्तरिय शिक्षाका लागिपरेको बताउँदै विगत ४३ वर्षदेखि निरन्तर शिक्षा सेवामा लागिरहेको उल्लेख गरे । उनले भने, हामीले किताबकाे ज्ञानको कुरामा मात्रै ध्यान दिएका छैनौं, विद्यार्थीलाई व्यावहारिक शिक्षाको खाँचो भएकोले त्यसतर्फ ध्यान दिएको बताए । विद्यार्थीलाई पढाईको साथमा रचनात्मक कार्यमा लगाउनु पर्छ, उनीहरुको शारिरीक विकासको लागि खेलकुद निकै आवश्यक भएको बताए । उनले आफ्नो विद्यालय वा अन्यमा पढ्ने टोलका वालवालिकाहरुले हरेक शनिवार विद्यालयमा दिउँसो २ देखि ३ वजेसम्म खेलकुदका विभिन्न विद्यामा सरिक भएर खेल खेल्ने व्यवस्था मिलाएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षा संयोजक ध्रुव पोखरेलले गरेका थिए ।