सहारा एकेडेमीको जिम्मा व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले लिने

-


     सफल आवाज    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित


पोखरा, १७ कात्तिक । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा आज एक कार्यक्रमकाबीच स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरिराम गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमती पत्रमा उल्लेख गरीएको छ  ।

सम्झौता आदान प्रदान कार्यक्रममा बाेल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारासंग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका  लागि सम्झौता गरेको बताए ।

हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । छोरा रोशन केसीले आफ्नो बुबाको काम र बिचारलाई स्थापित गर्न र जिवन्त बनाई राख्न सहारा एकेडेमीसँग जोडिएको बताए ।

साे अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सहयोग दाताको भरमा सञ्चालन् हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग केसि परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरिराम गुरुङले बताए ।

सहयोग रकम उनीहरुको शिक्षादीक्षा सहित फुटबल प्रशिक्षणमा एकेडेमीले खर्च गर्नेछ  । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटवल प्रतियोगिताको मुख्य प्रायोजन समेत गरेको छ  । सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन् गरेको छ ।