डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

-


     सफल आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित


काठमाडौं, ७ मङ्सिर । साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । मछिन्द्रका लागि सुनिल बलले दुई गोल गरे । एनआरटीका लागि एरिक विष्टले सान्त्वना गोल गरे । खेलको पहिलो हाफको १२औं मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।

विशाल राईको पासमा उनले गोल गरे । त्यस्तै खेलको ५४औँ मिनेटमा एरिक विष्टले फ्री–किक प्रहार गर्दै गोल गरे। देवेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्री–किकको अवसर पाएको थियो । एरिकले त्यसको सदुपयोग गर्दै गोल गरे । खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ ले जित दिलाए।

जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अङ्क जोडेको छ । सो खेलको म्यान अफ दी म्याच मछिन्द्रका सुनिल बल घोषित भए ।