चन्द्रागिरिमा शुक्रबारदेखि वडास्तरीय फुटसल प्रतियोगिता हुने

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित


फाइल तस्बिर


काठमाडौं, २१ मंसिर । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिता यही मंसिर २४ र २५ गते हुने भएको छ ।

मत्स फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने उक्त प्रतियोगितामा पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै सोही अवसरमा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीका बीच पनि प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने छ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् । प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने, ‘फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोगसमेत गर्ने छ ।’

कोरोना कहरले आक्रान्त खेलकुद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुंगाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ क्लवले खेलकुदका विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् ।