खेलाडीलाई गरिएको कारबाहीमा पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीलाई संरक्षण्न गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने भन्दै उनले खेल क्षेत्रमै आफ्नो उर्जावान् समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए ।

मन्त्री गहतराजले आगामी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् ।