ए डिभिजन लिग : आर्मी र सातदोबाटोबीचको खेल बराबरी

-



     सफल आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ पुस । सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए ।

आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औं मिनेटमा सातदोबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै पाँच खेलबाट नौ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । यता बराबरीपछि सातदोबाटो भने आठ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्या‌ङ्दी क्लब १०/१० अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।