एलपीएलको छैठौं संस्करण माघ तेस्रो सातादेखि हुने

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



कैलाली, ११ पुस । धनगढीमा आउदो माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ ९एलपीएल० हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलले धनगढीमा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरेको हो ।

आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको एलपीएल एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने भएको छ । ‘प्रतियोगितामा विगतका बर्षहरुमा १६ टीमहरुको सहभागीता रहदै आएकोमा यस वर्षदेखि प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयहरुलाई उच्चतम अवर प्रदान गर्न १० टीमहरुलाई सहभागी गराइएको छ ।’ लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष शाहीले भने, ‘सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टीमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरु पहिचान गर्न सजिलो हुनेछ ।’

प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरु पनि पक्का भएको उनले बताएका छन् । सहभागी विद्यालयहरुमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्या भुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौं र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौंले पनि सहभागिता जनाउने छन् ।

लिग कम नकआउट फरम्याटमा खेलाइने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद ७५ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने भएको छ ।