एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मानपत्रसहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, दुई जना प्रशिक्षकलाई जनही तीन लाख र एक जना अफिसियललाई दुई लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरव र खुसीको अनुभूति भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लिएका थिए ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी व्यक्त गर्दै बधाईसमेत दिएका छन् ।