भलिबलमा जनउत्थान र बास्केटबलमा माछापुच्छ्रेलाई उपाधि

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



पोखरा, १८ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा सम्पन्न २०औं संकरणको ल्होसार सेञ्चुरी मेलामा भलिबल तर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा सेञ्चुरी युवा क्लब घुर्जुङलाई २५-२०, २५-१५ र २५-२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको सेञ्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कार पाएको छ । तृतीय स्थान भने मिलन युवा क्लब याङ्जाकोटले सुरक्षित पारेको छ । सो क्लबलाई आठ हजार रुपैयाँ प्रदान गरेको आयोजकले जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष मिकास गुरुङका अनुसार भलिबलतर्फ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा सीसीवाइसीका शिव गुरुङ घोषित भए भने उत्कृष्ट स्पाईकरका रुपमा जनउत्थानका सुवास नेपाली पुरस्कृत भएका छन् ।

बास्केटबलमा माछापुच्छ्रे च्याम्पियन

बास्केटबलतर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ च्याम्पियन बनेको छ । फाइनल खेलमा मिलन युवा क्लब याङ्जाकोटलाई ६२-५८ ले पराजित गर्दै माछापुच्छ्रे युवा क्लब च्याम्पियन बनेको हो ।

च्याम्पियन बन्दै माछापुच्छ्रेले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ हात पार्‍यो । त्यसैगरी उपविजेता बनेको मिलन युवा क्लबले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ नगद प्राप्त गर्‍यो भने तृतीय स्थान प्राप्त गर्ने ग्याघोथरलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित आठ हजार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।

गुरुङका अनुसार सो खेलबाट सर्वाधिक स्कोररबाट माछापुच्छ्रे क्लबका ईच्छे गुरुङ पुरस्कृत भए भने उत्कृष्ट खेलाडीका रुपमा याङ्जाकोटका सरोज गुरुङ घोषित भए । तमु ल्होसारको अवसरमा आयोजना गरेको सो मेलामा भलिबलतर्फ १४ टिम र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, सीएमसीका अध्यक्ष गुञ्जमान गुरुङ, पर्यटन व्यवस्थापन समिति छोम्रोङका उपाध्यक्ष जगन्नाथ गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ तथा मेला संयोजक राम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।