२० औं आहा ! रारा गोल्डकप माघ ६ देखि १५ गतेसम्म हुने

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



पोखरा, २० पुस । बहुप्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगामी माघमा आयोजना हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा माघ ६ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट तालिका प्राप्त भएको क्लबले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु र आयोजक गरी १० टिमको सहभागिता रहने छ । यद्यपि विजेताले पाउने रकमको बारेमा भने क्लबले केहिपनि उल्लेख गरेको छैन । गतबर्षको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार प्राप्त गरेका थिए गतबर्षको उपाधि संकटा क्लबले जितेको थियो ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चायचाउले प्रायोजन गर्दै आइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, र सहारा क्लब अष्टेलियाको सहयोग तथा पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च र १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने क्लबको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । पोखरा–१७ दोबिल्लामा रहेको एकेडेमीमा २०६१ सालदेखि उनिहरुलाई क्लबले आवासीय रुपमा नि:शुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।