एथलेटिक्स खेलाडीलाई मन्त्री गहतराजले गरे बिदाई

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ पुस । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै उनले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको बताए ।

पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री गहतराजले भने, ‘हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदै छौं, जसमार्फत् खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको व्यवस्था हुनेछ ।’ जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्रसिं रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका हुन् ।