दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई

-


     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ पुस । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जितेका छन् । ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जितेका हुन् ।

प्रतियोगितामा देवराज महतारा द्वितीय भएका हुन् । उनले उक्त दूरी दुई घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गरे । प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय भए । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरे । सान्त्वना भएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गरे । खुल्लातर्फको म्याराथनमा ४९ धावकको सहभागिता थियो ।

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुंगिएको थियो । खुल्लातर्फ प्रथम हुनेलाई ६५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ, तृतीय हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना भएकी छन् । महिलातर्फ प्रथम हुनेलाई १० हजार रुपैयाँ, द्वितीय हुनेलाई आठ हजार रुपैयाँ, तृतीय हुनेलाई पाँच हजार रुपैयाँ र सान्त्वना हुने एक जनालाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जितेका थिए । प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालीकोटका देवराज महतारा चौथो भएका थिए ।