आहा ! रारा गाेल्डकपः उपाधिका लागि एपिएफ १४ बर्षपछि मनाङसंग भिड्दै

-



     सफल आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित



पोखरा, १५ माघ । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिकाे छिनाेफानाे आज हुँदैछ । उपाधिका लागि मनाङ मस्र्याङदी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।

एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उनले बताए ।

मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो पदर्शन गर्न दबाब रहेको बताए । उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताए ।

एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङ संगको भेट पक्का गरेको हो ।

त्यस्तै मनाङले भने नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो । मनाङले ६ पटक उपाधि जितिसकेको छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । खेल आज दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुने छ ।