महिला भलिबल खेलाडी नगदसहित सम्मानित

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराजले ‘बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुदमन्त्री गहतराजले नगद पुरस्कारको घोषणा गरेका थिए । पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् । त्यसैगरी प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरिएको छ ।

‘विश्व नम्बर १’ प्रिन्स सम्मानित

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा दाहाल सम्मानित भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै इतिहास रचेका प्रिन्सलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराज (अथक) को उपस्थितिमा भएको सम्मान कार्यक्रममा प्रिन्सलाई सम्मानपत्र प्रदान गरिएको हो ।ब्याडमिन्टनको विश्व वरियताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।