ओमान जाने नेपाली क्रिकेट टोलीलाई भर्चुअल माध्यमद्वारा बिदाई

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आइसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो ।

मंगलबार भर्चुअल माध्यमद्वारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्वारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिकासमेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताए । नेपाली विरता सम्झिएर खेल्नसमेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरेका छन् ।

राज्यले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ इङ्गीत गर्दै मन्त्री अथकले केही ठूला पूर्वाधारहरु निर्माणधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतमा देखिएका कमी कमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

साथै खेलाडीहरुलाई उच्च मनोबलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।