राखेपको आर्थिक तथा प्रशासनिक अधिकार सहसचिव डा. पोखरेललाई

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्गाउन नसक्दा लामो समयदेखि नेतृत्वविहिन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन् । राखेप सदस्य सचिवसम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग्दा बिगत २ महिनादेखि परिषदको सम्पूर्ण कामकारबाही ठप्प भएको थियो । सबै काम रोकिएपछि परिषदका कर्मचारीहरुले परिषदको अवरुद्ध कामकारबाहीमा सहजीकरण गरीदिन मन्त्री अथकलाई आग्रह गर्दै आएका थिए ।

परिषदमा देखिएको समस्या साधानका लागि युवा तथा खेलकुदमन्त्री अथकले यही माघ २४ गतेको मन्त्रिपरिषद बैठकमा अधिकार प्रत्यायोजनसम्बन्धि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पास गर्दै मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषदका अध्यक्षका हैसियतमा मन्त्रीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन गर्न दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा मन्त्रालयका सहसचिव पोखरेललाई सदस्य सचिवको सम्पूर्ण अधिकार प्रत्यायोजन गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदको ईतिहासमै पहिलो पटक सदस्य सचिवको अधिकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद ८ को दफा ५२ को उपदफा ३ बमोजिम राखेपको सदस्य सचिवले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकताअनुसार परिषदको कुनै पनि कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने नियम भएता पनि अहिलेसम्म उक्त अधिकार कसैलाई प्रत्यायोजन गरिएको थिएन ।

जसका कारण परिषदमा कार्यरत कर्मचारीहरुले बिगत २ महिनादेखि तलब खान पाएका थिएनन् भने चालू आर्थिक वर्षमा विनियोजित वार्षिक कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउनसमेत समस्या हुँदै आएको थियो । यसका अलावा परिषदका प्राय सबै कामहरु ठप्प हुन पुगेका थिए ।

सरकारले २०७८ कार्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई उक्त पदबाट हटाउने निर्णय गरेको थियो । लगत्तै २०७८ म‌सिर १३ गते युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले टंकलाल घिसिङलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । उक्त निर्णयबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा परेको थियो । जुन मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा छ ।