ए डिभिजन लिग फुटबल : जावलाखेल र फ्रेन्ड्सबीचको खेल बराबरी

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरे ।

यस्तै फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो । खेलको ११औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा लोइकले दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

यसैगरी खेलको ४३औं मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० को अवस्थामा पुर्‍याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फ्रेन्ड्सका नाथानिलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । खेलको ७१औं मिनेटमा फ्रेन्ड्सका जमोलले फ्रिकिकमा गोल गर्दै ३–२ को अवस्थामा पुर्‍याए ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए । बराबरीसँगै जावलाखेल हालसम्म ११ खेलमा १० अंक जोड्दै ११ औं स्थानमा छ । समान खेल खेलको फ्रेन्ड्स ७ अंकसहित १२ औं स्थानमा छ ।