
फागुन २७, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुगेका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुगेका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भइरहेको बताए । ‘आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं,’ मन्त्री अथकले भने, ‘चैत्रमा विद्यालय स्तरीय परीक्षा सञ्चालन हुने तथा बैशाखमा स्थानिय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता सञ्चालन गर्ने गरी छलफल भइरहेको छ ।’ उनले आगामी जेठभित्रै प्रतियोगिता गर्नुपर्ने भएकाले आवश्यक तयारी थाल्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन् ।
रंगशालाको निरिक्षणका क्रममा पौडी र सुटिङ बाहेकका सबै खेलहरु रंगशाला हाताभित्रै सञ्चालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए । निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पिक उपाय खोजेर भए पनि पौडी सहितका सबै खेलहरु पोखरामै सञ्चालन गरिने बताए । सुटिङका खेलहरु भने काठमाडौंमै सञ्चालन गर्ने तयारी गरीएको उनले जानकारी दिए । पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता सञ्चालनका लागि कुनै समस्या नहुने मन्त्री अथकको भनाई थियो ।

यद्यपी प्रतियोगिताका लागि स्थानीय स्तरबाटै खेलाडीहरु छनोट भएर आउनुपर्ने भएकाले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु सञ्चालन गर्न मन्त्री अथकले निर्देशन दिएका छन् । कोरोनाका कारण पालिका तथा प्रदेशस्तरका खेल गतिविधिहरु चलायमान हुन नसक्दा समयमै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न नसकिएको बताउँदै मन्त्री अथकले तत्काल पालिका तथा प्रदेशस्तरका प्रतियोगिताहरु सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

प्रतियोगिता सञ्चालनका लागि यसअघि नै गण्डकी प्रदेशको राजधानी पोखरालाई चयन गरिएको थियो । पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दा त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अथकले खेल क्षेत्रलाई पर्यटन उद्योगका रुपमा विकास गर्न आवश्यक रहेको बताए । अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुलबहादुर थापालगायत सहभागी भएका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




