मेयर कप क्रिकेट : खलंगा सेमिफाइनलमा

-



     सफल आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित



दशरथचन्द नगरपालिका-४ खलंगा, बैतडीको देहिमाडौंमा जारी पाँचौं संस्करणको मेयर कप पुरुष टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खलंगाले दशरथचन्द नगरपालिका-३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खलंगाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७।२ ओभरमा १२३ रनमा समेटियो । दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए । हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ ।

बलिङतर्फ खलंगाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २/२ विकेट लिए । त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलङ्गाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो । बलिङतर्फ दुर्गाभवानीका शंकर नाथले २ विकेट लिए ।

खलंगाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए । प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनले दशरथचन्द नगरपालिका-७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुने छ । उपाधि विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।