बागलुङ, १६ चैत । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक एकाइको सेवा प्रभावित बनेको छ । बागलुङकाे काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ । अनमी मुना थापा तालिममा सहभागि हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आएकी छन । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।
विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताए । “एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ”, अध्यक्ष श्रीसले भने, “भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ ।” उनले जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताए ।
एकाइ व्यवस्थापन र स्वास्थ्यकर्मीको खटनपटन गाउँपालिकाले नै गर्दै आएको छ । यसअघि सेवामा रहेका एकाइ प्रमुख भण्डारीलाई भने देउरालीस्थित स्वास्थ्य चौकीकै दरबन्दीबाट काजमा ल्याइएको थियो । भवनलगायत अरू पूर्वाधारका हिसाबले भने उक्त एकाइ स्वास्थ्य चौकीभन्दा कम छैन । प्रदेश सरकारको झन्डै डेढ करोडको लागतमा सो भवन बनेको थियो । सोही भवनको माथिल्लो तलामा अहिले वडा कार्यालयका लागि संरचना बनिरहेको छ ।
एकाइमा रहेको कोषबाट उपचारमा अर्थाभाव हुने परिवारलाई बिनाब्याज २५ हजारसम्म ऋण दिने गरिएको छ । अति विपन्न परिवारका बिरामीलाई अवस्था हेरेर आर्थिक सहायता पनि दिने गरिएको छ । एकाइबाट दिगो र प्रभावकारी रुपमा सेवा दिन जनशक्ति व्यवस्थापन नै मुख्य चुनौतीका रुपमा देखिएको छ । सोही कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रीसले बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




