१५ दिनभित्र लिखित जवाफ पेस गर्न क्यानलाई दियाे सर्वोच्चले आदेश

-


     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित


काठमाडौं, १८ जेठ। एभरेस्ट प्रिमियर लिगलाइ क्रिकेट गेम संचालन गर्नका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्लाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

क्यानको निर्णयविरुद्ध ईपीएलले यही जेठ १२ गते सर्वोच्चमा रिट दायर गरेको थियो । क्यान आफैँले नेपाल ट्वान्टी–२० लिग आयोजना गर्ने भएपछि अरू लिगलाई मान्यता नदिने घोषणा गरेकोमा एभरेस्ट प्रिमियर लिगले असहमती जनाउदै अदालत गुहारेकाे थियाे । सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने कारणका विषयमा जवाफ पेस गर्न आदेश दिएको छ ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी यो ओदश जारी गरिएको छ,’’ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जारी गरेको आदेशमा भनिएको छ ।

यसअघि आयोजना भएका ईपीएल, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा आयोजना गर्न क्यानले अनुरोध गरेको थियो ।