वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा, नेपाल सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

-


     सफल आवाज    
     जेठ २१ गते २०७९ मा प्रकाशित


काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए । उनले भने, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ ।

हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।” प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्नसक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्व बुझाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

“वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन् । स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो । त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भने।

कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन सङ्कटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको जनाएको छ । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण सुरु भएको हो ।

कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम भए । पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। पार्की १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन ।

त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो । त्यस्तै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो भए । त्यस्तै तेस्रो हुने त्रिभुवन आर्मी क्लबकै मुकेश पालले एक घण्टा आठ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गरे। चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए ।

त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन भने नेपाल पुलिस क्लबकी रोवा विष्टले एक घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भइन । त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः एक घण्टा ३१ मिनेट १३ सेकेन्ड, एक घण्टा ३३ मिनेट २७ सेकेन्ड र एक घण्टा ३६ मिनेट तीन सेकेन्डमा निर्धारित दूरी पार गरे ।

कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले रु एक–एक लाख पुरस्कार पाए । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र रु पाँच हजार प्राप्त गरेकाे जनाइएको छ ।

‘जलवायु परिवर्तन’ नाराका साथ आयोजित दशौँ संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (पाँच किमि), ह्विलचियर रेस (तीन किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो । हाफ म्याराथन थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुञ्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर समापन भएको थियो ।