तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोज ५ देखि ९ गतेसम्म पोखरामा

-


     सफल आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित


पोखरा २२ जेठ । तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आगामी असोजमा पोखरामा आयोजना हुने भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गते सम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय महासचिव दिपराज गुरुङले विश्वका ५० भन्दा बढी देशका १ हजार ५ सय बढी खेलाडीहरुले सहभागिता जनाउने बताए । जी–२ स्तरको प्रतियोगितामा नेपालका कुल ५ सय जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको ७२ खेल खेलाइने भएकाले खेलाडीहरुको संख्या अझैं बढ्न सक्ने महासचिव गुरुङले बताए । प्रतियोगिता अन्तर्गत खेलाडीहरुले ¥याङकिङ प्राप्त गर्नेछन् । प्रतियोगिताले नवौं राष्ट्रिय खेलकुदलाई समेत सघाउन पु¥याउने गुरुङको भनाइ छ ।

प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ भने विभिन्न राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ एवं उद्योगपतिसहितको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सघाउनुका साथै पर्यटन क्षेत्रमा समेत मद्दत पुग्ने गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड लाग्ने आयोजकको अनुमान छ ।

तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी मेडल जित्न सफल खेल समेत हो । विश्वका २ सय १६ देशहरुमा तेक्वान्दो संघ रहेको छ ।