
काठमाडौं, ९ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि निगरानी बढाउन आग्रह गरेको छ। डब्लूएचओले जनस्वास्थ्य आपत्काल घोषणा गर्दै यसलाई थप फैलन नदिनका लागि निगरानी बढाउन आह्वान गरेको हो ।
बहुर्राष्ट्रिय प्रकोपको समीक्षाका लागि गत शनिबार गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालिन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेससले मङ्कीपक्स तीव्र गतिमा बढिरहेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका हुन् ।
संगठनले मङ्कीपक्सको सङ्क्रमण बढ्न थालेपछि दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूमा निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ ।
‘मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेका छन्, ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’
विश्वका ७५ देशहरूका १६ हजार जनामा मङ्कीपक्सको सङक्रमण पुष्टि भइसकेको संगठनले जनाएको छ जसमध्ये दक्षिण–पूर्वी एसिया क्षेत्रका भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार जना मङकीपक्सका सङ्क्रमित भेटिएको तथ्याङ्क छ ।
भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स देखिएको डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ ।
हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्ने बताइएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




