‘एनेस्थेसियन’  नहुँदा शल्यक्रिया सेवा बन्द

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



नवलपरासी (बर्दघाट सुस्तापूर्व), २३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’  नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । करार सेवामा कार्यरत   एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

उनले भने, ‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो, उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ ।’

उक्त अस्पतालमा  एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल,  सीएस लगायतको शल्यक्रिया हुँदै आएकोमा सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सर्जन चिकित्सकसमेत नभएको उलजे थपे । 

यसबाहेक अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ जनाको भए पनि ७ जना मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको बुझिएको छ ।