बढ्दै कोरोना सङ्क्रमित: १ हजार ९० थपिए, २ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जना कोरोना सङ्क्रमित थपिएका छन् । हिजो सोमबार देशभरबाट ९३४ जना थपिएका थिए । यसरी हेर्दा २४ घण्टाको अवधिमा अघिल्लो दिनको तुलनामा १५६ बढीमा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ९५८ जनाको पीसीआर र ३ हजार ३४२ जनाको एन्टिजेन गरी ६ हजार ३ सय जनामा गरिएको परीक्षणमा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

परीक्षण गरिएकामध्ये पीसीआर परीक्षणबाट ५६० जना र एन्टिजेन परीक्षणबाट ५३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको आँकडा छ । यो आँकडासँगै देशभर कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ८०६ पुगेका छन् । यसैगरी यो अवधिमा ४३८ सङ्क्रमित निको भएर घर फर्केका छन् भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७१ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।