केन्याविरुद्धको पहिलो टी-२० मा नेपाल विजयी, दोस्रो खेल आज

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित


नेपाली क्रिकेट टोली - फाइल तस्बिर


काठमाडौं, १० भदौ । नेपालले केन्याविरुद्धको पहिलो टी-२० आईमा ५ विकेटले विजय प्राप्त गरेको छ । जितसँगै ५ खेलको टी-२० आई सिरिजमा नेपालको १–० को अग्रता भएको छ ।

जितको लागि केन्याले नेपाललाई १ सय ३१ रनको विजय लक्ष्य दिएकोमा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा र ज्ञानेन्द्र मल्लले ३० बलमा ३ चौकासहित २३ रन बनाए ।

ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आसिफले २७ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख १५ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।

केन्याका विराज पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । लुकास ओलुओले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । केन्याको इनिङ्समा केन्याका विकेटकिपर इफरान करिमले सर्वाधिक ३४ रन र लुकास अलुओचले ३१ रन बनाएका थिए ।

बलिङतर्फ सोमपाल कामीले २, कप्तान सन्दीप लामिछानेले २ तथा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान १-१ विकेट लिएका थिए । नेपाल र केन्याबीचको दोस्रो खेल आज शुक्रबार हुँदैछ ।