नवौं राष्ट्रिय खेलकुदको ‘काउन्टडाउन’ सुरु ३६ वटै खेल आयोजना स्थलको टुंगो

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



पोखरा ३० भदौ । आगामी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल आयोजना स्थलको टुंगो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले ३६ वटै खेल स्थलको टुंगो लागेको जानकारी गराएको हो । ११ वटै जिल्लाको भ्रमण पश्चात खेल स्थल टुंगो लागेको राखेपका सदस्य एवं खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । विविध कठिनाइले मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा भने प्रतियोगिता आयोजना गर्न नसकिएको उनले बताए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रक्रियागत रुपमा कामहरु धेरै अगाडि बढेको बताउँदै नवौं राष्ट्रिय खेलकुद भव्यरुपले सफल हुने विश्वास व्यक्त गरे । नयाँ खेलकुद ऐन बनेपछिको पहिलो खेल भएकाले पनि सबै मिलेर प्रतियोगितालाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।

परिषद्ले प्रतियोगिताको नतिजा सहजै रुपमा उपलब्ध गराउने उद्देश्यले आधिकारिक वेभसाइट सार्वजनिक गरेको छ । त्यस्तै एप पनि सञ्चालनमा ल्याएको छ । वेभसाइट र एपको बुधबार मन्त्री गहतराजले शुभारम्भ गरे ।

प्रतियोगिताको ‘काउन्ट डाउन’ सुरु भइसकेकाले तयारी तीव्र पारिएको सदस्य सचिव एवं मुल आयोजक समितिका संयोजक टंकलाल घिसिङले जानकारी दिए ।

प्रतियोगिताको ट्रफि भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेपछि असोज १ गते सुदूरपश्चिमबाट सुरु गरी विभिन्न ७ वटै प्रदेशहरुमा पदर्शनी गरिने छ । जसका लागि ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन भइसकेको छ ।

त्यस्तै तीन विभागीय टिममा समेत प्रदर्शन गरिने प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र बिष्टले जानकारी दिए । पहिलो पटक खेलाडीहरुका लागि अनलाइन दर्ता सुरु गरिएको पनि परिषद्ले जनाएको छ ।

सातवटै प्रदेश, तीन विभागीय र गैर आवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमको सहभागिता रहने प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, ३९३ रजत र ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।